loader

Breaking News

एनजेपी रेलवे स्टेशनबाट 56 जना युवती उद्धार : रेलवे पुलिसद्वारा दुइजना पक्राउ

Image
 

सिलगढी, 22 जुलाईः 
प्रतिष्ठित मोबाइल कम्पनीमा नोकरीको प्रलोभन देखाएर महिला तस्करी गर्ने योजनालाई पुलिसले विफल बनाइदिएको छ। एनजेपी रेलवे स्टेशनबाट 56 जना युवतीहरूलाई आरपीएफ र जीआरपीले संयुक्त अभियान चलाउँदै उद्धार गरेको छ। यस घटनामा रेलवे पुलिसले दुइजना व्यक्तिलाई पक्राउसमेत गरेको छ। एनजेपी स्टेशनबाट पटना जाँदै गरेको क्यापिटल एक्सप्रेसबाट यी युवतीहरूलाई उद्धार गरिएको बताइएको छ। 
घटना सोमबार रातिको हो। उद्धार गरिएका युवतीहरूलाई उनीहरूका परिवारलाई सुम्पिएको जनाइएको छ।
उत्तर बंगालको जलपाईगढी, कोचबिहार, अलिपुरद्वार र डुवर्स क्षेत्रका  मोठ 56 जना युवतीहरूलाई मोबाइल कम्पनीमा काम गर्ने बहानामा तश्करी गर्दै बिहार लाँदै गरेको पुलिसलाई गोप्य सूचना प्राप्त भएको थियो। 
रेलवे पुलिस सूत्रअनुसार पक्रा पर्नेहरू दक्षिण बंगालको भाटपाडा निवासी जितेन्द्र कुमार पासवान र सिलगढी नजिकै पोराझार निवासी चन्द्रिका कर हुन्। पुलिसले यिनीहरू विरुद्ध मानव तश्करीको धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ।
रेलवे पुलिस अधीक्षक कुँवर भूषण सिंहले घटनामा दुइजनालाई पक्राउ गरिएको र सबै कुराको जाँच भइरहेको बताएका छन्। 
युवतीहरूलाई बेंगलुरूको आईफोन कम्पनीमा नोकरीको प्रलोभन देखाइएको थियो। यद्यपि, पक्रा परेका व्यक्तिहरूसँगको प्रारम्भिक सोधपुछपछि रेलवे पुलिसले उनीहरूलाई तमिलनाडुको होसुर जिल्लामा लगिएको थाहा लागेको छ। तश्करहरूले चिया कमान क्षेत्रका युवतीहरूलाई निशाना बनाएका थिए।
सोमबार राति, रेलवे पुलिसलाई ठूलो संख्यामा युवतीहरूलाई बेचबिखन गर्ने योजना बनाइएको गोप्य सूचना प्राप्त भएको थियो। त्यसैअनुसार, एनजेपी रेलवे स्टेशनमा निगरानी शुरु गरियो। आरपीएफ पनि सजग भएको थियो। जीआरपी पुलिस अधिकारीहरू आत्रेयी गांगुली र वर्षा प्रधानको नेतृत्वमा 27 जनाको विशेष टोली गठन गरिएको थियो। त्यसपछि, पटना जाने क्यापिटल एक्सप्रेसलाई एनजेपीमा छापा मारियो र युवतीहरूलाई उद्धार गरियो। युवतीहरू मुख्यतया जलपाइगढी, बनरहाट, कोचबिहार र अलिपुरद्वारको कालचिनी क्षेत्रका बासिन्दा थिए। युवतीहरूसँग कुनै टिकट थिएन तर प्रत्येक युवतीको हातमा रेलको कोच र सीट नम्बर लेखिएको थियो। युवतीहरूसँग सोधपुछ गरेपछि नै पक्रा परेका दुइजनाको नाम बाहिर आएको हो। त्यसपछि, दुई तस्करहरूलाई पक्राउ गरिएको बताइएको छ। 
सोधपुछको क्रममा युवतीहरूलाई बेंगलोर लैजाने भनिए पनि वास्तवमा उनीहरूलाई हसुरमा वेश्यावृत्तिका लागि लगिरहेको पत्तो लागेको पुलिसले जनाएको छ। 
राज्यको कौशल विकास अन्तर्गत दार्जीलिङ जिल्लामा युवतीहरूलाई एक महिनाको तालीम पनि दिइएको थियो। केहीलाई होटल रिसेप्शनिस्टको रूपमा तालीम दिइएको पनि बताइएको छ। यसअघि धेरै युवतीहरूलाई तमिलनाडुमा बेचबिखन गरिएको , जो कथित रूपमा कहिल्यै घर नफर्केको पनि आरोप छ। 
रेलवे पुलिसले घटनामा अरू कोही संलग्न छ-छैन भनेर जाँच गरिरहेको छ। घटनाको जरासम्म पुग्न अलिपुरद्वार र जलपाइगढ़ी जिल्ला पुलिसलाई पनि सम्पर्क गरिएको छ। 
यता, घटनाबारे बोल्दै डेपुटी एसआरपी पारिजात सरकारले भने, आरपीएफले उजुरी दर्ता गरेको छ। त्यसैअनुसार मुद्दा शुरु गरिएको छ। हामीलाई मानव बेचबिखन गिरोह सञ्चालन भइरहेको शंका छ। अन्य जिल्लाका पुलिसलाई पनि सम्पर्क गरिएको तिनले बताए। पक्रा परेकाहरूको सोधपुछमा धेरै असंगतिहरू थिए। त्यसैले, उनीहरूलाई हिरासतमा लिएर फेरि सोधपुछ गरिने, तिनको भनाइ थियो।


Leave a Comment