दार्जीलिङका लोकसभा सांसद राजु बिष्टले आज संसदमा बोल्दै दार्जीलिङ-सिलगढीलाई बलासनमार्ग हुँदै जोड्ने वैकल्पिक राजमार्ग निर्माणको औपचारिक माग राखेका छन्। सांसद बिष्टले संसदमा जानकारी दिँदै भने, “भारतको सबैभन्दा प्रसिद्ध हिमाली पर्यटक गन्तव्यमध्ये दार्जीलिङ अहिले पहुँचसम्बन्धी गम्भीर चुनौतीको सामना गरिरहेको छ। दार्जीलिङ पुग्ने मुख्य बाटो, राष्ट्रिय राजमार्ग 110 (पहिलेको एनएच 55), जुन ब्रिटिश शासनकालमा निर्माण भएको हो, अहिले अत्यधिक चापमा परेको छ।”
बिष्टकाअनुसार यो सडक मूलतः कम सवारीका लागि डिजाइन गरिएको भए पनि अहिले दैनिक 15 हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुन्छ, जुन यसको क्षमता भन्दा दोब्बर बढी हो। यसले विशेषगरी भीडभाड हुने समय र पर्यटक सिजनमा निरन्तर ट्राफिक जाम र अवरोध सिर्जना गर्दै आएको छ। यसले विद्यार्थी, बिरामी, कार्यालय जानेहरू मात्र नभई पर्यटक र आगन्तुकहरूलाई पनि ठूलो असुविधा पुर्याइरहेको छ, जसका कारण पर्यटक आगमनमा समेत गिरावट आएको छ।
यस समस्याको समाधानका लागि उनले केन्द्र सरकारलाई सिलगढी- दार्जीलिङलाई बलासनमार्ग हुँदै जोड्ने वैकल्पिक राजमार्ग निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। नयाँ मार्गले एनएच 110 को भीड घटाउने मात्र नभएर, खरसाङ, मिरिक, सोनादा, रङ्बुल, धोतरे–पुस्सुमबेङ, सुकिया पोखरी र पोख्रेभोङ जस्ता कम विकसित ग्रामीण क्षेत्रलाई जोडेर आर्थिक अवसर विस्तार गर्ने र यातायात सुविधा सुधार गर्ने उनले बताए।
दार्जीलिङको भिरालो र संवेदनशील भौगोलिक स्वरूपलाई मध्यनजर गर्दै उनले आधुनिक र दिगो यातायात समाधानको आवश्यकता औंल्याए। यस क्रममा उनले पर्वतमाला योजनाअन्तर्गत घुम– दार्जीलिङ, दार्जीलिङ –बिजनबारी, डेलो–कालेबुङ, कालेबुङ–रेली र चित्रे जोड्ने रोपवे निर्माणको पनि प्रस्ताव राखे। उनका अनुसार यी रोपवेमार्गहरूले पर्यावरणमैत्री र शीघ्र यातायात सुविधा दिने मात्रै नभएर सडकमा पर्ने चाप कम गर्ने र पर्यटन अनुभवलाई अझ आकर्षक बनाउनेछन्।
सांसद बिष्टले विश्वास व्यक्त गर्दै भने, “केन्द्र र राज्य सरकारको सहयोगमा यी पहलहरूले दार्जीलिङलाई फेरि विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा पुनः स्थापित गर्नेछ साथै यो क्षेत्रलाई पहुँचयुक्त, आर्थिक रूपमा समृद्ध र दिगो विकासको बाटोतर्फ लानेछ।”
Leave a Comment