जीटीएले यस वर्ष नेपाली भाषा मान्यता दिवस महिनाव्यापी रूपमा भव्यताका साथ मनाउने निर्णय गरेको छ। यसै उद्देश्यका साथ कालेबुङको सेक्रेटेरिएट भवनमा शुक्रबार एक महत्वपूर्ण बैठक सम्पन्न भयो।
बैठकमा जीटीए सूचना तथा सांस्कृतिक विभागका भारप्राप्त सभासद् एनोस थापा, जीटीए डेपुटी चीफ एजिक्युटिभ सञ्चबीर सुब्बा, जीटीए सूचना एवं सांस्कृतिक विभाग कालेबुङका सभासद हेमन्त थुलुङ राई, तथा जीटीए पीआरओ अनुप छेत्री लगायत अन्य पदाधिकारीहरूको सक्रिय सहभागिता थियो।
बैठकमा नेपाली भाषा मान्यता दिवसलाई व्यवस्थित रूपमा मनाउन हेतु एक विशेष आयोजक समिति गठन गरिएको छ। उक्त समितिको संयोजकको जिम्मेवारी सभासद हेमन्त थुलुङ राईलाई दिइएको छ।
सभासद एनोस थापाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने “यस पटक जीटीए क्षेत्रभरि नेपाली भाषा मान्यता दिवसलाई महिनाव्यापी कार्यक्रममार्फत जनस्तरसम्म पुर्याउने तयारी गरिएको छ। यस अभियान अन्तर्गत कविता लेखन प्रतियोगिता आयोजना गरिनेछ।”
उक्त प्रतियोगिता जीटीए अन्तर्गत विभिन्न महकुमा स्तरमा सञ्चालन गरिनेछ भने कालेबुङमा जिल्ला स्तरीय दुई स्थानमा प्रतियोगिता हुनेछ। प्रतियोगिता नेपाली भाषाप्रतिको चेतना अभिवृद्धि र साहित्यिक सृजनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने जनाइएको छ।
जीटीएको यस पहलकदमीले नेपाली भाषाको मान्यता, संरक्षण तथा प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास गरिएको छ। आगामी दिनहरूमा विभिन्न सांस्कृतिक, साहित्यिक तथा शैक्षिक कार्यक्रमहरू पनि समावेश गरिने तयारी भइरहेको छ।
Leave a Comment