loader

Breaking News

26 –को विधायक रेसमा को-को?

Image
 

26 –को विधायक रेसमा को-को?

द हिमाल वर्ल्ड
23 अप्रेल, 2025

आउँदो विधानसभा चुनाउमा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि डुवर्सको  कालचिनीबाट को-को उम्मेदवार हुनेहुन्? 
के रूदेनसादा लेप्चाले पुन: दोस्रोचोटि पनि कालेबुङबाट टिकट पाउलान्?  पाए भने उनका प्रतिद्वन्दीहरू को-को होलान्? 
खरसाङमा बीपी बजगाईं फेरि लड्लान्?  बीजेपीले उनलाई टिकट देला? अथवा, उनको चुनावी रणनीति के होला? 
 निरज जिम्बाको दार्जीलिङमा ह्याट्रिक गर्ने सपना पूरा होला के त? 
डुवर्सको कालचिनीमा विशाल लामा फेरि भाजपा प्रार्थी होलान् त?
बंगाल विधानसभा चुनाउ आउन अब लगभग 1 वर्ष जति मात्र छ। राजनैतिक पार्टीहरूले आ-आफ्नै पाराले चुनावी अभियान शुरू गरिसकेका छन्। एकातिर बंगालमा भारतीय जनता पार्टीले सरकार बनाउने पुन एकपल्ट सपना देखिरहेको छ भने अर्कोतिर राज्यको सत्तासीन दल तृणमूल कंग्रेस -ले चौथोपल्टका लागि सरकार गठन गर्ने दावी गर्दैछ। यसैबिच, तर साम्प्रदायिकताको राजनीतिले राज्यका कतिपय क्षेत्रमा अशान्ति सृष्टि भइरहेको अवस्थामा बंगालका मतदाताहरूले कसलाई कोलकाताको हटसीटमा राख्नेहुन्? हेर्दैजाऔं...
दार्जीलिङ पहाड़ अनि डुवर्सको कुरा गर्ने हो भने यसपालि चुनावी युद्ध भाजपा बनाम टीएमसी मात्रै नभएर यिनीहरूलाई चुनौती दिन कुनै तेस्रो शक्तिको उदय हुनसक्ने सम्भावना  देखिँदैछ।
अब कुरा गरौं दार्जीलिङ आसनको।
एकातिर गोरामुमो नेता अनि भाजपा विधायक निरज जिम्बाले पटक-पटक आफूले तेस्रोचोटि पनि दार्जीलिङबाट चुनाउमा विजयी भई ह्याट्रिक गर्ने हुँकार पिटिरहेका छन् भने अर्कोतिर विमल गुरुङ, अजय एडवर्ड्स र अनित थापाका पार्टीहरूले पनि दार्जीलिङको विधायक सीटमाथि गिद्धे नजर राखिरहेकै छन्। 2009 देखि 2024 सम्म दार्जीलिङका मतदाताहरूले भाजपालाई खुल्ला रूपमा सघाउ पुऱ्याएका हुन्। तर, भाजपाले गोर्खा हितमा केही नगरिरहेको अवस्थामा भाजपालाई यसपालि दार्जीलिङ आसन जित्नु फलामको चिउरा चपाउनुसरह हुने जानिफकारहरूको भनाइ छ।
अजय एडवर्ड्सद्वारा नेतृत्वाधीन इण्डियन गोर्खा जनशक्ति फ्रण्टको बढ्दो जनप्रियता अनि एडवर्ड्स स्वयं पनि दार्जीलिङबाट चुनाउ लड्नसक्ने सम्भावना एकातिर व्यक्त गरिँदैछ भने अर्कोतिर दार्जीलिङ सीट हत्याउन भागोप्रमोले पनि कुनै कसर नछोड़िरहेको स्थितिमा बीजेपी लगायत घटक दलहरूले कस्तो रणनीति अप्नाउने हुन् त?
अब कुरा खरसाङको।
2021 –मा भाजपा प्रार्थीका रूपमा टिकट पाएका बीपी बजगाईंले पहाड़को शक्तिशाली भागोप्रमो पार्टीकी नेत्री छिरिङ दाहाललाई पराजित गरी विधायक बनेका थिए भने पछि आफ्नै पार्टीसित बागी बन्नपुगेका बजगाईंका लागि पनि यसपालि भाजपाभित्र राजनैतिक परिवेश साह्रै अनुकूल देखिन्न। यति मात्र होइन, भाजपा सांसद राजु विष्ट र विधायक बजगाईंबिच सिङ्गजोरी चलिरहेको अवस्थामा बजगाईंले पार्टीबाट टिकट पाउने सम्भावना नगण्य नै देखिन्छ। यस्तो परिस्थितिमा बजगाईंले के गर्लान् त? अथवा, बीजेपीले कसलाई उतार्ने हो त खरसाङको चुनावी मैदानमा? अनि… भागोप्रमोले कसलाई देला त खरसाङबाट टिकट? कतै दाहालले नै फेरि एकपल्ट भागोप्रमोको टिकट पाउने हुन् कि? अथवा, अरू नै कसैलाई उम्मेदवारको रूपमा भागोप्रमोले चिन्हित गरेको छ? 
अर्कोतिर, को होला त  आईजीजेएफ –को खरसाङ उम्मेदवार?  एनबी खवास कि महेन्द्र छेत्री? अथवा, अन्य कुनै व्यक्तिको खोजीमा पो छ कि आईजीजेएफ?
यस्ता धेरै प्रश्नहरू पनि अहिले खरसाङ आसनलाई लिएर मानिसहरूका मनमा उठिरहेकै छन्।
यता कालेबुङको कुरा बेग्लै परिपाटीको छ।
के कालेबुङबाट रूदेन सादा लेप्चा नै फेरि चुनाउमा उठ्ने हुन् त?  अथवा, उनको ध्यान यसपालि चुनावी राजनीतिबाट हटेर व्यवसायतिर मात्रै लागिरहने हो? कताकता गूटबन्दीको शिकार भइरहेको अवस्थामा भागोप्रमोले यसपालि कालेबुङमा के निर्णय लिन हो? पार्टीले रूदेनलाई नै टिकट दिने हो अथवा अन्य विकल्प खोज्ने हो?  
यसैबिच, बीजेपीले कालेबुङमा यसपालि पनि शुभ प्रधानलाई नै आफ्नो उम्मेदवार बनाउने हो अथवा अरू नै कसैलाई चुनाउमा उठाउने हो? यो पनि गत्तिलै प्रश्न अघि आइदिएको छ। किनकि, 2021 –को चुनाउमा रूदेन सादाले लगभग 4 हजार भोटको व्यवधानले मात्र प्रधानलाई जितेका थिए। यसैले यसपालि पनि प्रधानको नाउँ नै चुनावी रेसमा अघि आइरहेको जानकारहरू बताउँछन्। 
अर्कोतिर, आफ्नै पारामा जनतासामु फैलिँदै गइरहेको आईजीजेएफ-ले पनि कालेबुङ सीटका लागि योग्य तथा दक्ष व्यक्तिहरूको खोजी गरिरहेको सुनिँदैछ। 
एकातिर पहाड़मा भागोप्रमोले आफ्नै चुनाउ चिन्हमा भोट लड्ने कुरालाई विस्तारै प्रचार गर्न थालिसकेको छ भने अर्कोतिर तृणमूलसितको घनिष्ट सम्बन्धलाई ध्यानमा राख्दै शायद दार्जीलिङ, खरसाङ, कालेबुङमध्ये एउटा सीटमा भागोप्रमोले टीएमसीसित गठबन्धन गर्नसक्ने सम्भावनालाई पनि अहिले नै उड़ाइहाल्न भने मिल्दैन।
2024 –को लोकसभा चुनाउमा भाजपालाई सहयोग गर्ने पार्टीहरू गोजमुमो, गोरामुमो, क्रामाकपा अनि अन्यहरूको यसपालि चुनावी टेक के हुन हो?  यसपालि पनि उनीहरूले भाजपालाई नै सहयोग गर्नेहुन् अथवा भाजपाको कार्यशैलीप्रति बढ्दो नैराश्यताको कारण आ-आफ्नै उम्मेदवार दिनेतर्फ लाग्नेहुन्?  अथवा,  अरू कुनै बाटो अप्नाउने हुन्? यो पनि अन्योलकै विषय बनेको छ अहिलेलाई।
यी त भए पहाड़का ठूला तथा प्रभावशाली मानिने पार्टीहरू सम्बन्धी गरिएका सम्भावित कुराहरू।
तर कुरा यति मात्रै छैन।  
प्रत्येक चुनाउमा निर्दलीय प्रार्थीहरूले पनि जनताका विविध मुद्दालाई अघि सार्दै जनतासामु आउने गरेका छन्। यसपालि चियाकमानमा पाँच डेसिमल जमिन विवाद, विरोध एवम् प्रदर्शन तथा ऱ्यालीहरू, कमानहरूका 30 प्रतिशत जमिन उद्योग जगतलाई दिइने राज्य सरकारको निर्णय जस्ता विभिन्न मुद्दामाथि धेरै स्वतन्त्र अनि साना-ठूला समूहहरूले अराजनैतिक रूपमा विरोध जनाइरहेको क्रममा यस्ता समूहहरूलाई नेतृत्व दिइरहेका व्यक्तिविशेषहरूले पनि यसपालि चुनावी मैदानमा ओर्लिनसक्ने सम्भावना बढेर गइदिएको छ। पहाड़मा भोलि गोर्खाहरूलाई नेतृत्व दिनसक्ने सम्भावना रहेका यस्तै समूहहरूबाट एक-दुइ अनुहारहरू जनता अघि आइदिने अनुमानहरू पनि छँदैछन्।
अब कुरा पहाड़बाट झरेर डुवर्सतिर लाग्दछ।
डुवर्सको कुरा गर्ने हो भने कालचिनी विधानसभा क्षेत्र गोर्खाबहुल क्षेत्रको रूपमा चिनिन्छ। 2021 –मा भाजपाका विशाल लामाले टीएमसी उम्मेदवार पासङ लामालाई 28,576 भोटको व्यवधानले चुनाउ जिती विधायक बनेका थिए। 
यसपालि कालचिनीमा फेरि भाजपाले विशाल लामालाई नै टिकट देला त? अथवा, भाजपाले लामाको साटो अरू कसैलाई उठाउने मन बनाउँदै पो छ कि? यो पनि  कौतुहलकै विषय बनिदिएको छ।
जे होस्, गणतन्त्रको सबैभन्दा ठूलो उत्सव मानिने चुनाउमा अबको एक वर्षपछि के-कस्तो परिदृश्य देखिने हो, को-को विधायक चुनिएर जानेहुन्? कस-कसको सपना साकार हुने हो? कस-कसले पराजयको सामना गर्नुपर्ने हो? त्यो त, उम्मेदवार अनि उनीहरू संलग्न रहेको पार्टी तथा संगठनको नीति, कार्यशैलीमाथि नै निर्भर गर्दछ।
वर्तमान जनता अर्थात् मतदाताहरू लाटा छैनन्। ठीक-बेठिक, सही-गलत खुट्याउन सक्ने भएका छन्। सही र गलतमाथि जनताले ठीक समयमा निर्णय लिन सक्नेछन्। नेता अथवा पार्टीहरूले जनतासित छलकपट गरे, जनतालाई देखाएको सपना र दिएको आश्वासन पूरा नगरेर धोका दिए जनताले यसको बदला लिने समय भनेकै चुनाउ  हो। जनताले नेता तथा पार्टीलाई दिने सही जवाब भनेको नै भोट हो।
भनिन्छ, You can fool all the people some of the time and some of the people all the time, but you cannot fool all the people all of the time 
अर्थात्, तपाईंले सबैलाई केही समयका लागि मूर्ख बनाउन सक्नु हुन्छ अनि यसरी नै, केही मानिसलाई सधैंका लागि मूर्ख बनाउन सक्नुहुन्छ तर तपाईंले सबैलाई सधैंका लागि भने मूर्ख बनाउन सक्नुहुन्न।
यसैले, होशियार।
चुनाउ आउन अब लगभग एक वर्ष मात्र छ। जनताबाट माया पाउने कि तिरस्कार।  अबेर नगरी अहिलेदेखि नै जनताको हित र आकांक्षामाथि काम गर्न थाल्नुपऱ्यो।


Leave a Comment