अन्ततः 15 वर्षपछि शुरू भयो मदन तामाङ हत्याकाण्डमाथि ट्रायल। जसअन्तर्गत भएको प्रथम भर्चुअल ट्रायलमा हत्याकाण्डका आरोपीहरू क्रमैले कालेबुङका विधायक रूदेन सादा लेप्चा, पूर्व विधायक डा. हर्कबहादुर छेत्री, गोजमुमो अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी, गोर्खा जनमुक्ति नारी मोर्चा प्रमुख आशा गुरूङ, जीटीएका विनय तामाङका साथै मोठ 46 जना उपस्थित भए। कलकत्ताको सिटी सेसन्स अदालतमार्फत दार्जीलिङ जिल्ला अदालतमा भएको यस प्रथम भर्चुअल ट्रायलमा मोठ 47 जना आरोपी उपस्थित हुन पर्थ्यो। तर यस हत्याकाण्डका एक आरोपी पुरण राई हाल कलकत्ताको प्रेसिडेन्सी संशोधन गृहमा रहेको कारण उनले त्यसै संशोधन गृहबाटै आफ्नो भर्चुअल उपस्थिति दिए। अब यस मुद्दाको अर्को सुनवाई आगामी 25 अगस्तको दिन हुने निश्चित भएको छ भने त्यस सुनवाईको समय स्व. मदन तामाङको पक्षबाट यस मुद्दाको वकालत गरिरहेका उनका भाइ अमर लामा कलकत्ताको सिटी सेसन्स अदालतमा उपस्थित भएर आफ्नो पक्ष राख्ने भएका छन्। जुन समय यस हत्याकाण्डका आरोपीहरू पुनः दार्जीलिङ जिल्ला अदालतमा नै भर्चुअल सुनवाईको लागि उपस्थित हुनपर्नेछ। स्मरण गराइन्छ, 21 मई 2010-को बिहानै स्थानीय अप्पर क्लब साइड परिसरमा गोर्खालीगका नेता मदन तामाङको निर्मम हत्या भएको थियो। त्यस समय मदन तामाङले एउटा जनसभालाई सम्बोधन गर्ने तयारी गरिरहेका थिए। जनसभाको लागि माइक बजिरहेको थियो अनि गोर्खालीगका कार्यकर्ताहरू वरिपरि भेला भएर बसेका थिए। त्यसै समय मदन तामाङमाथि आक्रमण भएको थियो अनि उनको त्यसै दिन मार्मिक निधन भएको थियो।
Leave a Comment